बुटवल,२५ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव तथा पुर्व मन्त्री गाेरे बहादुर खपाङ्गीकाे ८० औं जन्म जयन्ती साेमबार रूपन्देहीमा पनि मनाइएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद (केन्द्रीय सम्पर्क कार्यालय बुटवल) को आयोजना, पार्टीको लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमिति रूपन्देहीको ब्यवस्थापनमा सम्पन्न कार्यक्रममा स्व. नेता खपाङ्गीकाे याेगदानकाे स्मरण गर्दै मनाइएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष डाक्टर हाजी महमद हसनले स्व.नेता खपाङ्गीकाे याेगदान बारे चर्चा गर्दै उनकाे उचित सम्मान हुन नसकेको बताए ।

मुलुकमा संघीयता र समावेशीताकाे आवाज उठाउदा स्व नेता खपाङ्गीलाई जातीय मुद्दा उठाएको भनी गलत प्रचार गरिएको भन्दै उनलेे बहुजातीय समाजवाद बिना देश समृद्ध नहुने दाबी गरे ।

पार्टीका महासचिव टाेप अस्लामीले स्व.नेता खपाङ्गी पार्टीको नेता मात्रै नभएर राष्ट्रिय चिन्तनका प्रवर्तक,बैकल्पिक राजनीति र विचारधाराका पथप्रदर्शक भएको बताए ।

नेपालमा संघीयता र समावेशीताकाे आवाज उठाउने खपाङ्गी भएको स्मरण गर्दै महासचिव अस्लामीले खपाङ्गीकाे योगदानकाे उचित सम्मान हुन नसकेको बताए ।

कार्यक्रममा पार्टीका सचिव गीता सारू,लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरूङ,नेपाल मगर महासंघ अध्यक्ष छत्र बहादुर दर्लामीलगायतले स्व नेता खपाङ्गीकाे जिवनी र राजनीति बारे आ आफ्नो भनाइ राखेका थिए ।