पाल्पा,२५ साउन ।
पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

माथागढी गाउँपालिका–५, धामिगाबाट सत्यवती हुँदै बुटवल जाने क्रममा लु १ ज २२३७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकी नौ जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले बताए ।
सोमबार बिहान करिब ७:०० बजे जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

सडकबाट करिब ११० मिटर तल खसेको जिप दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो ।

दुर्घटनामा जिपका चालक देवकुमार घर्तीसहित अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाइएको छ । हालसम्म घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।