बुटवल,२४ साउन ।
आदिवासीजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान अध्यक्ष रेशम गुरूङले प्रतिष्ठान खारेज गर्ने नभई अझै ससक्त बनाउनुपर्नेमा जाेड दिएका छन् ।

३२ औं विश्व आदिवासी दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष गुरूङले उक्त कुरामा जाेड दिएका छन् । बर्तमान सरकार आदिवासीजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न लागेको भन्दै उनलेे प्रतिष्ठान खारेज गरे सम्पूर्ण आदिवासीजनजाति सडकमा उत्रिने चेतावनी दिए ।

मुलुकमा संघीय लाेकतान्त्रिक गणतन्त्र आएपछि मात्रै आदिवासीजनजातिका अधिकार लिपिवद्व भएको स्मरण गर्दै उनलेे प्राप्त उपलब्धिकाे रक्षा गर्नु अहिलेकाे आवश्यकता भएको बताए । बर्तमान सरकार आदिवासीजनजाति प्रति अनुदार देखिएको भन्दै उनलेे आदिवासीजनजाति राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने दुस्प्रयास गरे देशभरका आदिवासीजनजाति सडकमा आउँदा सरकारले थाम्न नसक्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सांस्कृतिक शहरकाे रूपमा विकास गर्ने आफुहरूकाे योजना रहेको बताउँदै साेही अनुसार सबै जात जाती, भाषा भाषी,धर्म र संस्कृतिको साझा थलो बनाउने गरि बजेट छुट्टयाइएको जानकारी गराए ।

बुटवल उपमहानगरपालिकाले आदिवासीजनजातिका संस्कार र संस्कृतिलाई सम्पत्तिका रूपमा लिएर त्यसको संरक्षण र प्रवर्द्धनमा लागेको भन्दै उनलेे नेपाली भाषा बाहेक अन्य जनजातिका भाषामा पनि नागरिक बडापत्र राख्ने बुटवल देशभरमै पहिलो पालिका भएको उल्लेख गरे ।

नेपाल आदिवासीजनजाति महासंघ जिल्ला समन्वय परिषद रूपन्देहीका अध्यक्ष आशा गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा
बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा, नेवा दय दबु जिल्ला अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ,महासंघका बरिस्ठ उपाध्यक्ष इन्द्रबहादुर राई,तिलाेत्तमा नगर अध्यक्ष गंगा छन्त्याल,सचिव मीनबहादुर सारू,आदिवासीजनजाति युवा महासंघ रूपन्देहीका अध्यक्ष छबि रानालगायतले आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा विभिन्न जात जातिका माैलिक गित तथा नृत्य प्रदर्शन गरिएको थियो ।

यसअघि बुटवलको राजमार्ग चाैराह स्थित लखनचाेकबाट सुरु भएको विभिन्न जात जाति,भाषा भाषीका झाकीसहितकाे र्याली मिलनचाेक,बसपार्क,अस्पताललाईन,ट्राफिक चाेक हुँदै थकाली सेवा समाजको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।