काठमाडौँ,२४ साउन ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको शासकीय अराजकताले जताततै छोटे राजाहरू देखिन थालेको टिप्पणी गरेका छन् ।
केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले राज्य सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको बताएका हुन् ।
‘विस्तारै शासकीय शैली कस्तो बन्न थाल्यो भने, जताजतै छोटे राजाहरू देखिन थाल्यो। यसले विस्तारै विस्तारै धेरै कुरामा डुबाउन सक्छ,’ उनले भने, ‘यो सरकार बरालिएको छ, खबरदारी गरेर ल्याउने काम हाम्रो हो ।’
यस्तै थापाले सरकारले आफ्नो सीमा नाघेको पनि आरोप लगाएका छन् । ‘कार्यपालिकाले न्यायापालिकाको सीमा पनि मै भित्र पर्छ भन्न थाल्यो । संवैधानिक निकाय पनि मेरो आदेशपालक हो भन्न थाल्यो । संसद् पनि मेरो आदेशपालक हो भन्नु थाल्यो,’ उनले भने, ‘राज्य शासकीय अराजकताबाट आक्रान्त भएको छ । यसको छुट योे सरकारलाई दिन हुँदैन ।’
उनले सरकारलाई लेन मिच्ने छुट नभएको पनि उल्लेख गरे । ‘तपाईंले लेन मिच्न पाउनुहुन्न, स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन पाउनुहुन्छ । तर लेनभन्दा बाहिर जान पाउनुहुन्न,’ उनले भने ।






