बुटवल,८ चैत ।
पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी,अर्घाखाँचीको शीतगङ्गा-४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन् ।
घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








