बुटवल,४ चैत ।
बुटवलमा यही चैत ६ र ७ गते “मिस्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स ” प्रतियोगिता हुने भएको छ ।
आयोजक लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आज बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
बुटवललाई फिटनेसकाे हव बनाउनुका साथै बुटवल अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सक्षम छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सीतुप्रसाद श्रेष्ठले जानकारी दिए ।
दुई जना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसहित ६६ जना खेलाडीकाे सहभागीता रहने प्रतियोगितामा पुरूषतर्फ ६ ताैल समूह (५५ केजीदेखि ७५ केजी माथि ) र महिलातर्फ खुला एथलेटिक्स फिजिक प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिकाकाे संरक्षकत्वमा आयोजना गरिएको प्रतियोगितामा पुरूष बडीबिल्डिङ तर्फ प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० हजार,तृतीय हुनेले ५ हजार तथा उत्कृष्ट खेलाडीले नगद २ लाख,ट्रफी प्राप्त गर्ने छ ।
प्रतियोगितामा महिला फिजिकतर्फ प्रथम हुनेले ३० हजार,द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।








