रोल्पा,३० फागुन ।
रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकी रहेकी छिन् । उनको माटो खन्दै गर्दा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दै गर्दा ढिस्को खसेर उनी पुरिएकी थिइन् ।

घटनाबारे दिउँसो करिब साढे १२ बजे प्रहरीलाई जानकारी पुगेपछि इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको टोली घटनास्थल पुगेर को उद्धार गर्ने प्रयास गरे पनि निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन् । उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको छ । घाइते तीनै जनाको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मोतीखन्ने डाँडामा सात जना माटो खन्न गएका थिए, जसमध्ये तीन जना भने सकुशल रहेको बताइएको छ ।