बुटवल,२६ फागुन ।
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय चाैथाे मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बुटवल ब्याडमिन्टन क्लबलको आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ ।
प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास,खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको कायक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले बताए ।
उनले सोही अभियानलाई निरन्तरता दिँदै यसपटक चौथो संस्करणको लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाए ।
प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि), र मास्टर भेट्रान्स डबल (४५ वर्षमाथिकोले ३५ वर्ष माथीकोलाई पाटनर बनाएर खेल्नु पर्ने ) गरी ३ विधामा प्रतिस्पर्धा हुनेछन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहने अपेक्षा क्लबका अध्यक्ष नलराज नेपालले जानकारी दिए ।
मेन्स डबलतर्फ प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित मेडल, सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ ।
क्लबका अनुसार ५५ वर्षमाथिको भेटरान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित मेडल,सिल्ड र ट्रफी प्राप्त गर्नेछन्
।
यस्तै ३५ वर्षमाथि र ४५ वर्षमाथिको मास्टर भेटरान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धा मात्र नभई अनुभव आदान–प्रदान,मित्रता विस्तार र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
खेलकुदलाई स्वस्थ समाज निर्माणको बलियो माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले प्रदेशस्तरमा ब्याडमिन्टन खेलप्रति आकर्षण अझ बढाउने आयोजककाे विश्वास छ ।









