बुटवल,१५ फागुन ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले आज बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान १० बजेदेखि सुरु हुने नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ ले जनाएको छ ।
सभालाई पार्टीका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीको धारणा राख्ने छन् ।
नेपाली काँग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीका अनुसार रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ । उनले भोलीको सभाले त्यसको स्पष्ट सन्देश दिने बताए । सभामा जिल्लाभरबाट नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवद्र्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका पार्टी सभापति सहितका नेताहरुको उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेद्वार छन् ।
बदलिएको प्रचार शैली : रुपन्देही–२ मा काँग्रेस उम्मेदवारको पक्षमा टिकटक प्रतियोगिता
बदलिएको चुनावी प्रचारशैलीलाई अवलम्बन गर्दै रुपन्देही–२ मा नेपाली काँग्रेसले टिकटक प्रतियोगिता गरेको छ । रुपन्देही–२ का नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको चुनावी अभियानलाई डिजिटल माध्यममार्फत सशक्त बनाउन टिकटक प्रतियोगिता गरिएको हो । अभियान टोलीले युवापुस्तालाई सृजनात्मक रूपमा सहभागी गराउँदै चुनावी माहोललाई थप ऊर्जावान बनाउने उद्देश्यले “टिकटक बनाउनुहोस्, पुरस्कार जित्नुहोस्” प्रतियोगितात्मक कार्यक्रम ल्याएको हो ।
प्रतियोगिताअन्तर्गत सहभागीहरूले उम्मेदवारको समर्थनमा उत्कृष्ट, आकर्षक र ऊर्जावान टिकटक भिडियो तयार गर्नुपर्नेछ । आयोजकका अनुसार भिडियोमा सकारात्मक सन्देश, विकासको दृष्टिकोण र चुनावी अभियानको भाव झल्किनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरूले भिडियो पोस्ट गर्दा क्याप्सनमा अनिवार्य रूपमा ‘एन.सी.टिकटक’ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, आफ्नो स्थानीय तह र वडा नम्बर खुल्ने गरी सम्बन्धित ह्यासट्यागसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अभियान टोलीका अनुसार उत्कृष्ट भिडियो बनाउने सहभागीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । मूल्यांकनमा भिडियोको सृजनशीलता, सन्देश, प्रस्तुती र दर्शक सहभागितालाई आधार मानिने बताइएको छ ।
डिजिटल माध्यममार्फत चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउने प्रयासस्वरूप आयोजना गरिएको यो प्रतियोगिताले विशेषगरी युवाहरूलाई अभियानमा प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ । आयोजकले सबै इच्छुक सहभागीहरूलाई अग्रिम शुभकामना दिँदै उत्साहजनक सहभागिताको आह्वान गरेको छ ।








