बुटवल,९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् ।

उनले पूराना नेताहरुको नालायकी बोकेर हुने निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि मुलुकको संकट समाधान गर्न नसक्ने बताए ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले फागुन २१ को चुनाव आवश्यकता नभई बाध्यता भएको बताए ।

‘यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको हो’–उनले भने–‘ मुलुकमा केही समयदेखि उकुसमुकुस थियो, जेनजी आन्दोलनपछि पनि त्यही समस्या बोकेर निर्वाचन हुन लागेकाले मुलुकको संकट समाधान हुँदैन ।’

नयाँ र पूराना कुनैले पनि जनताको माग सम्बोधन गर्न नसक्ने बताउँदै भूसालले निर्वाचनपछि झन समस्या आउन सक्ने दाबी गरे । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको उनको टिप्पणी छ ।

गौरिबहादुर कार्की नेतृत्वको आयोगले पनि यथार्थ उजागर नगर्ने उनको भनाइ छ । भूसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए ।

मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे ।

उनले ओली, देउवा, प्रचण्ड र माधवकै नालायीका कारण मुलुकको वर्तमान अवस्था सृजना भएको आराेप लगाए ।

राजनीतिक पार्टीको नेतृत्वमै समस्या रहेको उनले नेपाली कांग्रेसमा गगन थापाको नेतृत्वले देउवाको विकल्प खोजे पनि कम्युनिष्ट पार्टीहरुले सुधारको संकेत नदिएको बताए । उनलेे केपी ओली र प्रचण्डले कुर्सी छाडेको दिन कम्युनिष्ट पार्टीहरुबीच एकता हुने बताए ।

‘कमरेड ओली र कमरेड प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट एक हप्तामा एक हुन्छ’, भूसालले भने ।

नीति, सिद्धान्तका हिसाबले अलग हुनुपर्ने कुनै कारण नरहेको बताउँदै नेतृत्वमा मात्रै समस्या रहेको बताए । प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी ढोकाबाट नभई व्यक्तिगत स्वार्थका कारणले झ्यालबाट एकता भएको बताए ।