दाङ,८ फागुन ।
नेकपा (एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ ।
जिल्लाकाे तुलसीपुर बजार क्षेत्रमा गएराति रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले आपत्ति जनाएको हो ।
शुक्रबार एमाले जिल्ला अध्यक्ष शिवकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रहार हुने गरी भएको उक्त गतिविधि अराजक र असभ्य भएको जनाइएको छ ।
विचार र जनमतबाट राजनीतिक असहमति व्यक्त गर्नुपर्नेमा हिंसात्मक र उत्तेजक व्यवहार देखाउनु राजनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ ।
एमालेले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन र प्रियतावादले अन्ततः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा एमालेको धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन सचेत गराउँदै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ । साथै, एमालेले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्यको रक्षा र सुदृढ प्रतिवादको पक्षमा उभिन अपिल समेत गरेको छ ।








