बुटवल,५ फागुन ।
आगामी निर्वाचनलाई लक्षित गर्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले सैनामैना क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
मंगलबार बिहान सैनामैना नगरपालिका १ र ३ का विभिन्न टोलबस्तीमा पुगेर पौडेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका छन् ।
घरदैलोका क्रममा स्थानीय नागरिकले रोजगारी, सडक पूर्वाधार, खानेपानी, ढल निकास, सुकुम्बासी समस्या तथा शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषय उठाएका थिए ।
विशेष गरी सैनामैना–३ को मुर्गियाका विभिन्न टोल र सुनगाभा चोक हुँदै नगरपालिका क्षेत्र भ्रमण गर्दा मतदाताले आफ्नो स्थानीय समस्या–टोलको बाटो नबनेको, ढल निकास अभाव भएको लगायतका समस्या सुनाएका थिए। मतदाताले एकै स्वरमा पौडेललाई भोट दिने र आफन्तलाई पनि मतदान गर्न सिफारिस गर्ने कुरा व्यक्त गरेका थिए ।
पौडेलले मतदातासँगको संवादमा भने, “जनताको घरआँगनमा पुगेर समस्या बुझ्नु नै मेरो पहिलो प्राथमिकता हो । यदि म निर्वाचित भएँ भने सैनामैनाको समग्र विकासलाई प्रमुख प्राथमिकतामा राख्नेछु ।
युवालाई स्वरोजगार बनाउने, कृषिमा आधुनिकीकरण गर्ने, साना उद्योग प्रवर्द्धन गर्ने र महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउने मेरो योजना छ ।”
घरदैलो अभियानमा समानुपातिक उम्मेदवार चुनावी समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, रुपन्देही क्षेत्र-२ का सभापति प्रजापाल तथा निर्वाचन परिचालन समितिका संयोजक प्रजापाल गिरी , काङ्ग्रेस नेता युवराज गिरी लगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।
टोल–टोलमा पुग्दा उम्मेदवार पाैडेललाई स्थानीयवासीले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।








