राजधानी सार्नेलाई अनुमोदन नगरौँ : खाँण
बुटवल,४ फागुन ।
बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् ।
केही भएपनि चलायमान भएको यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश उद्योगी ब्यवसायीले राजधानी सरेपछिको क्षतिले बर्षौंसम्म हानिरहेको समेत उल्लेख गरे ।

बुटवल कालिकानगरमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गरे । उनले आफुले नीजिक्षेत्रमा अर्बाैँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा समस्या भोगेको समेत स्मरण गरे । उनले अबको संसदमा नेपाली अर्थतन्त्र,लगानी,कृषि उत्पादनको बजार,पर्यटन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका एजेण्डालाइ सधै प्राथमिकता राख्ने बताए । पौडेलले रुपन्देही क्षेत्रको आवश्यकता,संभावना,समस्या र चुनौती राम्रोसंग बुझेकाले देखेका र भोगिरहेको समस्याबाट उद्योगी ब्यबसायीलाइ मुक्त गर्ने प्रतिबद्धता जनाए । उनले घरदैलोमा जाँदा जनताले दिएको सुझाव, सल्लाह र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले कांग्रेसले रुपन्देहीमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी दाङ सार्नेलाइ अब यहाँका जनताले अनुमोदन गर्न नहुने जिकिर गरे । देश र लोकतन्त्रलाई बलियो बनाइ संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाइ जिताउनुपर्ने नेता खाँणको भनाइ छ ।

सो अवसरमा बोल्दै राजनीतिक बिश्लेषक अरुणकुमार सुवेदीले नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा बिस २०४८ सालको बैंकिङ उदारिकरणको नीतिले देशमा आर्थिक अवस्था सुधारिएको र साना ब्यवसायीले पनि ठूलो कारोबार गरेर आर्थिक अबस्था अब्बल बनेको उल्लेख गरे । उनले २०६३ सालपछि देश कम्यूनिष्टको नेतृत्वमा जाँदा तहसनहस भएको स्मरण गरे । उनले अब कांग्रेसले यसलाइ सुधारेर जनतामा आशा जगाउनुपर्ने बताए । नेपाली कांग्रेसले आफूलाइ बदलेको स्मरण गर्र्दै उनले पूजीको सहि प्रयोग,परिचालन हुन सके देशकै आर्थिक अबस्था सुधारिने बताए । सुवेदीले नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा सामाजिक र राजनैतिक स्वतन्त्रता मात्रै प्रदान नगरि आर्थिक स्वतन्त्रता पनि उल्लेख गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामबहादुर कार्की,कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेस उद्योगी ब्यवसायी परिचालन समितिका संयोजक हरि अर्याल,उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र प्रतिनिधित्वका विषयमा गम्भीर छलफल
बुटवल,४ फागुन ।
आदिवासी जनजाति समुदाय परिचालन समितिको आयोजनामा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार चुन्न प्रसाद पौडेल सँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र प्रतिनिधित्वका विषयमा गम्भीर छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही–२ का सभापति तथा निर्वाचन परिचालन संयोजक प्रजापाल गिरीले नेपाली कांग्रेसले सबै जातजातिलाई आधार मानेर संविधान निर्माण गरेको उल्लेख गरे । उनले कांग्रेस सधैं समावेशी सिद्धान्तको पक्षमा रहेको र आदिवासी जनजातिलाई स्थानीय तहदेखि केन्द्रसम्म स्थान दिँदै आएको बताए । लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नर बहादुर थापाले लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको स्मरण गरे । हरेक लोकतान्त्रिक आन्दोलनमा जनजाति समुदायले आफ्नो ज्यान र बलिदान दिएको छ उनले भने, अब उनीहरुको हक अधिकार सुनिश्चित हुनु आवश्यक छ ।

कार्यक्रममा बोल्दै उम्मेदवार चुन्न प्रसाद पौडेलले आदिवासी जनजाति समुदायसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । म निर्वाचित भएर केन्द्र पुगेपछि आदिवासी जनजातिका मागहरुलाई सशक्त रुपमा उठाउनेछु उनले भने । उनका अनुसार पहिचानको अधिकार, समान अवसर तथा राज्यका सबै संरचनामा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नु आफ्नो प्राथमिकतामा पर्नेछ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्द पहराईले पनि आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका सवालमा पार्टी स्पष्ट रहेको बताए । उनले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राम बहादुर कार्की, छन्द बहादुर पहराई मगर, लोकतन्त्रवादी आदिवासी जनजाति संघ रुपन्देहीका सभापति नरबहादुर थापा, तरुण दलका नगर अध्यक्ष सुदन गुरुङ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति निर्वाचन परिचालन संयोजक झप्पड बहादुर गुरुङले गरेका थिए । नेपाल आदिवासी जनजाति नगर कमिटीका सभापति अरुण श्रेष्ठकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नर बहादुर रजाली मगरकाे सञ्चालनमा सम्पन्न भएको थियो ।