पाल्पा,४ फागुन ।
नेपाली कांग्रेस पाल्पाका दुईवटै क्षेत्रका उम्मेदवारहरूले पाल्पाको प्रसिद्ध धार्मिक स्थल सत्यवती बजैकाे दर्शन गरि संयुक्त रूपमा चुनाव प्रचारप्रसार कार्यकाे सुरुवात गरेका छन् ।

पाल्पा क्षेत्र नं २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ र क्षेत्र नं १ का उम्मेदवार सन्दिप रानासहितकाे टोलीले आज बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नं ४ सत्यवती स्थित सत्यवती बजै मन्दिरमा दर्शन गरि चुनाव प्रचारप्रसार अभियानको सुरुवात गरेका हुन् ।
सत्यवती बजैकाे दर्शनसँगै साेही ठाउँमा पहिलो चुनाव प्रचारप्रसार सभा समेत सम्पन्न भएको छ ।
पाल्पामा पहिलोपटक आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बाेधन गर्दै पाल्पा क्षेत्र नं २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले आफ्नो बाबु आमाले सत्यवती मन्दिरमा भाकल गरेपछि आफू जन्मिएको विश्वास रहेको स्मरण गर्दै साेही स्थानबाट चुनाव प्रचारप्रसार सुरुवात गरेको बताए ।
सत्यवती मन्दिर र गाउँमासँग आफ्नो र पारिवारकाे भावनात्मक सम्बन्ध रहेको भन्दै उनलेे सत्यवती गाउँको समग्र विकास र सुख दुखमा आफू सधैं साथमा रहने प्रतिवद्वता ब्यक्त गरे ।
जेनजी आन्दोलन पश्चात् पार्टीमा पनि विद्रोह गरेर नयाँ नीतिका साथ कांग्रेसको नयाँ नेतृत्व १० बर्षे योजनाको खाकासहित चुनावमा हाेमिएकाे भन्दै उम्मेदवार श्रेष्ठले यो निर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई जिताएर पार्टी सभापति गगन थापाकाे नेतृत्वमा सरकार बनाउने अवसर दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा पाल्पा क्षेत्र नं १ का उम्मेदवार सन्दिप रानाले धार्मिक आस्था र सत्यवती बजैप्रतिकाे विश्वासका साथ आफू क्षेत्र नं १ काे उम्मेदवार भए पनि २ नम्बर क्षेत्रमा पर्ने सत्यवतीबाट चुनाव प्रचारप्रसार अभियान सुरु गरेको भन्दै पाल्पालाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।
नेपाली कांग्रेस तिनाउ गाउपालिका वडा नं ४ का सभापति देवसिं दर्लामीकाे सभापतित्व र नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गाेपाल सिंहकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व सांसद हरिप्रसाद नेपाल,पुर्व मन्त्री बिरबहादुर राना,नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे,क्षेत्रीय सभापति मुक्तिराम जिसी,पार्टीका तिनाउ गाउँपालिका सभापति प्रेम पाण्डे,स्थानीय नेता दानबहादुर गाहा,महिला नेत्री रिमा सुनारलगयतले जेनजीकाे मर्म र भावनालाई आत्मसात गर्दै बदलिएको कांग्रेसले देशको अवस्था बदल्ने योजनासहित चुनावमा हाेमिएकाेले कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे ।
प्रचारप्रसारका क्रममा सत्यवती गाउँमा घरदैलाे गरेर मतदाता समक्ष रूख चिन्हमा मत मागेका थिए ।








