अनुसन्धानका क्रममा रहेका बैंक कागजात सार्वजनिक गरेको आरोप
कपिलवस्तु,२८ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाकाे बाणगंगा नगरपालिका–८ धनेपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नै फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए । उक्त कागजात सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा रहेका संवेदनशील कागजात सार्वजनिक गरी गोपनीयता भंग गरेको तथा सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा भट्टराई पक्षबाट भने औपचारिक प्रतिक्रिया आइसकेको छैन ।