बुटवल,२७ माघ ।

२०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गरे । यस क्षेत्रमा सफल व्यवसायीकाे पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको रूपमा स्थापित भएका छन् ।

आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा उम्मेद्वार बनेका समाजसेवी पौडेलको पक्षमा जनलहर पनि बढेको छ ।

काँग्रेसले टिकट दिएर चुनावी मैदानमा होमिएका पौडेलले मंगलबार बुटवलमा किराना व्यवसायीहरुसंग अन्तरक्रिया समेत गरेका छन् । त्यसक्रममा खुद्रा तथा किराना व्यवसायीहरुले उम्मेद्वार पौडेलकाे अनुहारमा किराना व्यवसायीहरुकै अनुहार झल्किएको बताउँदै आफूहरुको पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आगामी फागुन २१ गतेकाे निर्वाचनमा आफूहरुले पार्टी नभनेर व्यवसायिका प्रतिनीधिलाई जिताउने उनिहरूकाे प्रतिवद्धता छ ।

खुद्रा तथा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल वेलवासे लगायतले  चुन्नलाई जिताउँदा आफूहरुको पहिचान पनि स्थापित हुने र व्यवसायीका समस्या समाधानका लागि सहज हुने विश्वासकासाथ चुनावमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै उम्मेद्वार चुन्नप्रसाद पौडेलले आफू खुद्रा किराना व्यवसायबाट उद्योगीको पहिचान बनाएको बताउँदै आफूलाई खुद्रा तथा किराना ब्यवसायीका समस्या राम्रोसँग बुझेकोले समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।  व्यवसायीका समस्या समाधान गर्न नीतिगत सुधारका लागि व्यवसायीहरुसंगै बसेर समाधानको मार्गचित्र बनाउने पनि उनको प्रतिवद्धता थियोे ।

त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले उम्मेद्वार पौडेल उद्योगी व्यवसायीका अभिभावक रहेको बताउँदै चुन्नकाे जीतले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस देशको विकास र समृद्धिका यात्रामा रहेकाे भन्दै  उनलेे देशको समृद्धि र विकासका लागि पनि चुन्नप्रसाद पौडेललाई रुख चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरे ।

बुटवलका २४ जना युवा काँग्रेसमा प्रवेश

विभिन्न राजनीतिक दल परित्याग गरि बुटवलका विभिन्न वडाका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मुलुकको विकासका लागि स्थिर र प्रतिवद्ध पार्टी नेपाली काँग्रेस मात्रै रहेको निश्कर्ष सहित माओवादीको द्वन्द्वमा भूमिगत जीवन विताएकाहरु समेत गरि २४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

देशप्रतिको निष्ठा र विकास प्रतिको समर्पण नेपाली काँग्रेसमा मात्रै देखेर आफूहरु पार्टीमा प्रवेश गरेको उनीहरुले बताए ।

मंगलबार बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरमा आयोजित वडा स्तरीय चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका अवसरमा उनीहरुलाई नेपाली काँग्रेसकाे तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेद्वार चुन्नप्रसाद पौडेल, क्षेत्रीय सभापति प्रजापाल गिरी लगायतका काँग्रेस नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् । त्यसैगरी मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. २ मा पार्टीको प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको पार्टीका क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी दिए ।