बुटवल,२६ माघ ।
नेपाली कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा बुटवल उपमहानगरपालिका वडा नं ५ मा वडा स्तरीय चुनाव प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ५ काे नेपालगन्ज राेडमा साेमबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

साे अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी युवाहरूले उठाएका एजेन्डा कांग्रेस नेतृत्वको सरकारले मात्रै सम्बाेधन गर्न सक्ने भन्दै भ्रष्टाचारको अन्त्य,सुशासन र मुलुककाे समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन जरुरी रहेको बताए ।

कार्यक्रममा रूपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेलले नेपालकाे राजनीतिक परिवर्तनकाे नेतृत्व कांग्रेसलेनै गरेको र मुलुक संकटमा परेका बेला नेपाली कांग्रेसलेनै निकास दिँदै आएको स्मरण गर्दै मुलुकमा अहिले देखापरेको समस्या समाधान पनि कांग्रेसले गर्ने दाबी गरे ।

यस क्षेत्रकाे विकास र समृद्धिनै आफ्नो एजेन्डा भएको भन्दै उनलेे रूपन्देहीलाई शिक्षा र स्वास्थ्यकाे हवकाे रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।

देशको विकास र समृद्धि तथा राेजगारीका लागि उद्योगी ब्यवसायमैत्री कानुन आवश्यक रहेको बताउदै उनलेे उद्योगी ब्यवसायमैत्री कानुन निर्माण आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।

नेपाली कांग्रेस बुटवल-५ का सभापति दीपक प्रसाद श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकाल,नेपाली कांग्रेस रूपन्देहीका काेषाध्यक्ष हरी प्रसाद अर्याल,नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ क्षेत्रीय सभापति प्रजापाल गिरी,नेपाली कांग्रेस बुटवल-५ का उपसभापति महादेव कसाैधन,क्षेत्रीय प्रतिनिधि समर मियालगायतले मुलुक अफ्ट्यारोमा परेका बेला कांग्रेसलेनै सम्हाल्दै आएको स्मरण गर्दै मुलुकको बर्तमान असहज परिस्थितिलाई पनि कांग्रेस नेतृत्वको सरकारले सम्हाल्ने विश्वास ब्यक्त गरे ।