पाल्पा,१९ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवम् प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं.२ का उम्मेदवार टोप अस्लामीले पाल्पाली जनताको तर्फबाट प्रतिनिधि सभामा वकालत गर्न आफूले पाल्पा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएको बताएका छन् ।

आफ्नो पार्टीले स्थापनाकालदेखि देश र जनताको पक्षमा वकालत गर्दै आएको भन्दै उनलेे प्रतिनिधि सभामा पाल्पाली जनताको चाहना अनुरूप वकालत गर्न आफूले पाल्पा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएको बताए ।

नेतृत्व मिडिया प्रालिद्वारा आइतबार पाल्पाको तानसेनमा आयोजना गरेको सम्वाद कार्यक्रममा महासचिव अस्लामीले आगामी निर्वाचनको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गरेको नागरिक सम्बोधन-पत्र (प्रतिबद्धता) को पाल्पाली जनताको तर्फबाट प्रतिनिधि सभामा वकालत गर्न आफूले पाल्पा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएको बताएका हुन् ।

मूलुकमा व्याप्त सबै खाले विसंगति र व्यथिति, बेरोजगारी र भ्रष्टाचारको अन्त्यका लागि पाल्पाली जनताको यथार्थ प्रतिनिधित्व गर्न आफू सक्षम रहेको विश्वासका साथ आगामी निर्वाचनको लागि यस क्षेत्रमा उम्मेदवार भएको भन्दै अस्लामीले भने- “क्षेत्र नं.२ तानपा १०, आफ्नो भूगोल हो र वर्तमान सन्दर्भमा पाल्पाली आवाजलाई मूलुक निर्माणमा इमान्दार ढङ्गले मैले नै उजागर गर्न पाउँदा सबै न्यायप्रेमी पाल्पाली नागरिकको आवाज राष्ट्रिय र नेतृत्वकारी आवाज बन्न सक्दछ ।”

स्थानीय जनताको आधारभूत समस्याको समाधान,विकास निर्माण कार्यमा आफू सदैव सकृय रहने तर प्रतिनिधि सभाको सदस्यले मूलुकमा सही कानून निर्माण र त्यसको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्न सक्नु पहिलो जिम्मेवारी भएको बताए ।

देश निर्माणको एजेण्डामा नागरिकहरुले बहस गर्न जरुरी रहेको भन्दै महासचिव अस्लामीले निर्वाचनमा मतदान र मतगणना कार्य सम्पन्न नहुँदा सम्म परिणाम बारे पूर्वानुमान गर्नु अतिशयोक्ति र आत्मरति मात्रै भएको उल्लेख गरे । देशलाई अन्योलबाट मुक्त गर्ने बारे प्रस्तावित मुद्दा र ती मुद्दालाई इमान्दार ढङ्गले अगाडि लैजान सक्ने पात्र बारे नागरिक तहमा छलफल होस् भन्दै उनलेे पाल्पाली जनताले ती मुद्दामा बहस गरी मतदानको क्रममा विवेक प्रयोग गर्न आग्रह गरे ।

पाल्पा जिल्लाबाट विभिन्न प्रत्यासी उम्मेदवारहरु बीचमा वर्तमान समसामयीक सन्दर्भमा मिडिया क्षेत्रबाट सामूहिक छलफल गराउने उद्देश्य भए पनि उम्मेदवारहरूको कार्यक्रम समय एकै पटक नमिल्ने भएपछि उपलब्ध उम्मेदवारलाई क्रमशः सम्वाद गराउदै लैजाने नेतृत्व राष्ट्रिय त्रैमासिक (नेतृत्व मिडिया प्रालि) का लागि सम्पादक/प्रकाशक गोविन्द भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका सभापति कमल तिमिल्सिना,महासंघका पुर्व अध्यक्ष तथा नेतृत्व राष्ट्रिय त्रैमासिकका सम्पादक/प्रकाशक गोविन्द भट्टराई, पत्रकार मिलन विश्वकर्मा,कृष्ण दर्नाल, भोजराज भट्टराई, रामचन्द्र नेपाल,कृष्ण पोखरेल लगायत राष्ट्रिय जनमुक्ति पार्टी,उम्मेदवारको मुद्दा र प्रतिबद्धता साथै आगामी दिनमा पाल्पाली जनतालाई साथ रहने नरहने, मत प्राप्त हुने आधार लगायतका विभिन्न समसामयिक विषयमा जिज्ञासा राखेका थिए ।

आगामी निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अस्लामी पत्रकार महासंघ पाल्पाका पुर्व केन्द्रीय पार्षद समेत हुन् ।