पाल्पा,१८ माघ ।
पाल्पाका ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पाकाे क्षेत्र नं १ मा सबैभन्दा धेरै मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन् ।
जिल्लाकाे क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र नं २ मा ९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेको प्रजिअ बज्राचार्यले बताइन । क्षेत्र नं २ मा संवेदनशील २६ र सामान्य ३१ वटा मतदानस्थल रहेका छन् । पाल्पा क्षेत्र नं २ मा जम्मा ६६ वटा निर्वाचन स्थल रहेका छन्
जिल्लाभर रहेका ११८ निर्वाचन स्थलमा प्रत्येक केन्द्रमा एकदेखि पाँचवटासम्म मतदान केन्द्र रहेका छन् ।
वि.स. २०७९ को निर्वाचनमा जिल्लाभर २४६ वटा मतदान केन्द्र रहेकोमा अहिले बढेर २५१ वटा पुगेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतदाता संख्या बढेका कारण मतदान केन्द्र थप भएको उनले बताए ।
पाल्पामा हाल दुई लाख सात हजार ४३६ जना मतदाता रहेका छन् । २०७९ तुलनामा ६ हजार ११० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।








