बुटवल,१६ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी घाेषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार रूपन्देहीको मंगलापुर स्थिति पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरि चुनावी घाेषणा पत्र सार्वजनिक गरेको हो ।

भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा जाेड दिदै आएको साे पार्टीले सत्तामा पुगेको ५ बर्ष भित्र भ्रष्टाचार अन्त्य गर्नेलगायतका प्रतिवद्वता गरेको छ ।

घाेषणा पत्र सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष केशव बहादुर थापा सुर्यवंशीले पार्टीले स्थापनाकालदेखि भ्रष्टाचार बिराेधि अभियान सञ्चालन गर्दै आएको भन्दै भ्रष्टाचार राज्यद्राेह सरहको अपराध घाेषणा गरि भ्रष्टाचारीलाई आजिवन काराबासकाे सजाय गर्नुपर्नेमा जाेड दिए ।

भ्रष्टाचार नियन्त्रण र सुशासननै जेनजी आन्दोलनको उदेश्य रहेको भन्दै अध्यक्ष सुर्यवंशीले जुन दिनदेखि भ्रष्टाचार बिरूद्व कडा कदम चालिन्छ त्यही दिनदेखि मुलुक समृद्विकाे यात्रा सुरु हुने धारणा राखे ।
एक फरक प्रसङ्गमा उनलेे चुनावको सन्दर्भमा हुने डिभेडलाई सिमित पार्टी र पात्रमा मात्रै सिमित नगरी डिभेडमा सहभागी हुन चाहने जुनसुकै दललाई पनि सहभागी गराउनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका महासचिव टाेप अस्लामीले नेपालकाे संविधान २०७२ त्रुटिपूर्ण रहेको भन्दै प्राप्त उपलब्धिकाे रक्षा गर्दै थप उपलब्धिका लागि संविधान पुनर्लेखन गर्नुपर्नेमा जाेड दिए । नेपालमा हाल अभ्यास गरिएको संघीय माेडेल पनि त्रुटिपूर्ण रहेको भन्दै उनलेे शक्तिशाली राज्य पुनर्संरचना आयोग गठन गरि त्यसको सुझावकाे आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने बताए ।

पार्टीका केन्द्रीय सचिव माेजिव अलीले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्येक्ष तर्फ लुम्बिनी प्रदेशका १० सहित देशका १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र समानुपातिकमा १२ जना उम्मेदवारलाई अगाडि सारेको जानकारी गराए ।

प्रत्यक्षमा आफ्ना उम्मेदवार नरहेका ठाउँ पार्टीको एजेन्डासँग मेल खाने उपयुक्त पात्रलाई समर्थन गर्न सक्ने साे पार्टीले जनाएको छ ।