बुटवल,१० माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेको आरोपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अनुशासन उल्लंघन गरेको ठहरसहित कारबाही गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिअनुसार दाङमा बागी उम्मेदवार बनेका केसीसहित सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ शाह, सिरहाकै राजकुमारी शाह तथा जीवछ साहलाई पार्टीबाट निष्कासन गरिएको छ ।

आधिकारीक उम्मेदवार मेटमणी चौधरी विरुद्ध लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका केसीले पार्टी निर्णयविपरीत उम्मेदवारी दिएर संगठनात्मक अनुशासन तोडेको आरोप लगाइएको छ ।