बुटवल,२४ पुस ।
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्‍यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्‍य ६५ हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्‍यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार रहेका छन् ।

उनीहरूलाई घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरिएको अख्तिायर दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

विद्यालयकाे भवन निर्माण पश्‍चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।