बुटवल,२४ पुस ।
बुटवल उपमहानगरपालिकामा विद्यालयका प्रधानाध्यापकहरूसँग प्रारम्भिक अपांगता पहिचान सम्बन्धि अभिमुखिकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले तिन कक्षा सम्मका अपाङ्गता भएका बालबालिकाहरूलाई बिभिन्न किसिमका सुबिधा उपलब्ध गराउने सरकारकाे नीति अनुसार पहिलो चरणमा विद्यालयका प्रधानाध्यापकहरूसँग प्रारम्भिक अपांगता पहिचान समबन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
राज्यले उपलब्ध गराउने सुबिधाबाट काेही पनि बन्चित हुन नहुने भन्दै नगर प्रमुख पाण्डेयले आ आफ्नो विद्यालयमा तीन कक्षासम्म अध्ययनरत अपांगता भएका विद्यार्थीहरूकाे तथ्यांक यथासक्य छिटो उपमहानगरपालिकामा पठाउन आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखाका उपनिर्देशक टिकाराम पन्थी र शाखा अधिकृत यादवचन्द्र बिष्टले अपांगताकाे परिभाषा,अपांगताका प्रकार,अपांगता पहिचानका आधार,अपांगता भएका ब्यक्तिका लागि परिचयपत्र एवम् सेवासुविधा,मर्यादीत शब्दावली एवम् भाषाको प्रयोग सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।
बुटवलका नगर प्रमुख पाण्डेयकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर भित्रका ३९ विद्यालयका प्रधानाध्यापकहरूकाे सहभागीता रहेको शिक्षा शाखाकी सहायक निर्देशक कमला चुदालीले जानकारी दिइन् ।
यसैबीच साेही कार्यक्रममा नगर भित्रका ४० सामुदायिक विद्यालयका छात्राहरूका लागि दुई लाख २३ हजार २८० प्याकेट सेनेटरी प्याड बितरण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापकहरूलाई सेनेटरी प्याड हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले सेनेटरी प्याड खरिद प्रक्रिया झन्झटिलो र लामो भएकाेले संघीय सरकारबाट अनुदान प्राप्त गर्न कठिनाइ भएको बताए ।
झन्झटिलो खरिद प्रक्रियाका कारण संघीय सरकारबाट अनुदान प्राप्त गर्न कठिनाइ भएकोले उपमहानगरपालिकाले आफ्नै बजेटबाट सेनेटरी प्याड खरिद गरी बितरण गरिएको उनलेे बताए ।






