काठमाडौं,१७ फागुन ।
स्रोत नखुलाई समाचार हुबहु प्रकाशन गर्ने १८३ अनलाइनलाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।
पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गरी गत आ.व. यता हालसम्म अनुमति नलिई समाचार हुबहु चोरी गरी प्रकाशन (कपि एण्ड पेस्ट) गर्ने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।
कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको काउन्सिलले जनाएको छ ।
बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको जनाइएको छ ।
बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्ने नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको पनि काउन्सिलले जनाएको छ ।
त्यस्तै, एक लाई भुलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको जनाइएको छ ।
अनलाइनको संख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने अध्यक्ष बस्नेतकाे चेतावनी छ । सञ्चार माध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन नसक्ने र विश्वसनीयता पनि घट्ने उनलेे बताए ।
२०८० साउनदेखि फागुन १५ गतेसम्म काउन्सिलमा विभिन्न मिडिया विरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएकाे काउन्सिलले जनाएको छ । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आ।व। समेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन् ।
काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।






