काठमाण्डाै,४ मंसिर ।
प्रधानमन्त्री वालेन्द्र शाह पर्सि आइतवार भारतको दुई दिने राजकीय भ्रमणमा जानु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आज औपचारिक रूपमा जानकारी गराएको हो । भ्रमण टोलीमा सरकारी ३४ जना सदस्य रहने परराष्ट्र सचिव अमृत राईले जानकारी दिए । त्यस्तै आफ्नै खर्चमा थप ५२ जना पनि भारत जाने छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन् । शाह नेपाल वायु सेवा निगमको विमानबाट पर्सि दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने तालिका छ ।

टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सोमवार बिहान भेटवार्ता हुनेछ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।

यस्तै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले पनि शाहसँग भेटवार्ता गर्नेछन् ।

यो भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र सचिव राईले जानकारी दिए ।

प्रधानमन्त्री शाहले नयाँ दिल्लीको राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

शाहको भारत भ्रमणले दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको सचिव राईले बताए ।

भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह दुई दिने भ्रमण सकेर सोमवार बेलुका स्वदेश आइपुग्ने कार्यक्रम छ ।