भैरहवा,४ मंसिर ।
नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेस, रुपन्देही -शेरबहादुर देउवा समूह) को जिल्ला अधिवेशन यही मंसिर ६ गते हुने भएको छ । अधिवेशन व्यवस्थापन समितिले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी बारे जानकारी गराएको हो ।

कार्यक्रममा अधिवेशन व्यवस्थापन समितिका संयोजक अधिवक्ता कृष्ण प्रसाद पोखरेलले भैरहवामा हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
संयोजक पोखरेलका अनुसार अधिवेशन सुरु हुनुअघि आइतबार बिहान ११ बजे भैरहवास्थित बुद्धचोकबाट ¥याली निकालिने छ । यसअघि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।

अधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गर्ने र सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने पोखरेलले बताए । अधिवेशनमा पार्टीका केन्द्रीय नेता डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायतको सहभागिता रहने उनले जानकारी दिए । पोखरेलले यसअघि सम्पन्न काँग्रेसको विशेष महाधिवेशन गगन थापा र विश्वप्रकाश शर्मा समूहको भएको टिप्पणी गरे । अब पार्टीको आधिकारिक महाधिवेशन हुन लागेको दावी गर्दै उनले नियमित महाधिवेशनले सबैको भावनालाई समेट्ने बताए । निर्वाचन आयोगले काँग्रेसको चुनाव चिह्न रुख गगन–विश्व समूहलाई दिने निर्णय गलत भएको उनको दाबी थियो । उनले नियमित महाधिवेशनको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा पार्टीका नेता तथा रुपन्देही जिल्लाका केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले जिल्ला र प्रदेश अधिवेशनपछि मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिने बताए । उनले काँग्रेसको विशेष महाधिवेशन प्रायोजित रहेको आरोप लगाए । भुसालले आगामी लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा समेत गरे ।