नवलपरासी,४ मंसिर ।
नेपाली कांग्रेसको केन्द्रीय नीति तथा निर्देशनअनुसार पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोड्दै आधुनिक,गतिशील र प्रभावकारी बनाउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का तीनवटा नगरपालिकामा डिजिटल प्रतिनिधिहरूकाे परामर्श भेला सम्पन्न भएको छ ।
जिल्लाका रामग्राम, सुनवल र बर्दघाट नगरपालिकामा बुधबार र बिहीबार छुट्टाछुट्टै रूपमा आयोजित भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि हिमाल दत्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले पार्टीको संगठनात्मक गतिविधिलाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने, प्रविधिको अधिकतम उपयोग गर्ने तथा डिजिटल प्लेटफर्ममा पार्टीको उपस्थिति र सक्रियता सशक्त बनाउने विषयमा महत्वपूर्ण छलफल गरेको थियो । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हिमाल दत्त श्रेष्ठले बदलिँदो राजनीतिक परिवेशमा डिजिटल माध्यम पार्टीको विचार, नीति, सिद्धान्त र संगठन विस्तारको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गरे । उनले डिजिटल माध्यमबाट कांग्रेसमाथि भइरहेका भ्रमपूर्ण प्रचार, आलोचना र आक्रमणको तथ्य, तर्क र आधिकारिक सूचनासहित डिजिटल माध्यमबाटै सशक्त प्रतिवाद गर्नुपर्नेमा विशेष जोड दिए ।
श्रेष्ठले विगतमा पार्टी नेतृत्वले डिजिटल प्रविधिको महत्व र यसको रणनीतिक उपयोगलाई समयमै आत्मसात् गर्न नसक्दा कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको धारणा व्यक्त गरे । अब पनि प्रविधिको महत्वलाई बेवास्ता गर्ने हो भने राजनीतिक प्रतिस्पर्धामा थप चुनौती सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीलाई प्रविधिमैत्री, सूचनामैत्री र डिजिटल रूपमा सक्षम बनाउनु आजको अनिवार्य आवश्यकता भएको बताए ।
उनले कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक योगदान, विचार र सिद्धान्तलाई नयाँ पुस्तासम्म पुर्याउन डिजिटल माध्यम प्रभावकारी हतियार बन्न सक्ने उल्लेख गर्दै प्रत्येक वडा तहबाट छनोट भएका डिजिटल प्रतिनिधिहरूलाई जिम्मेवार, सक्रिय र परिणाममुखी भएर काम गर्न आग्रह गरे । पार्टीका आधिकारिक धारणा, गतिविधि र उपलब्धिलाई जनतामाझ पुर्याउनेदेखि सामाजिक सञ्जालमा फैलाइने भ्रम र गलत सूचनाको तथ्यपरक खण्डन गर्नेसम्मका काममा डिजिटल प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
श्रेष्ठले कांग्रेसको गुम्दै गएको जनविश्वास र राजनीतिक साख पुनः स्थापित गर्न संगठनात्मक सक्रियतासँगै समयअनुकूल प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै डिजिटल अभियानलाई औपचारिकतामा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।
तीनवटै नगरपालिकामा सम्पन्न भेलामा नेपाली कांग्रेस नवलपरासी पश्चिमका कार्यवाहक जिल्ला सभापति विक्रमप्रसाद यादव, क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवं लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, रामग्राम नगरपालिकाका सभापति बलिराम यादव, सुनवल नगरपालिकाका सभापति यमलाल पाण्डे, बर्दघाट नगर सभापती सुक ब गुरूड,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यहरू बिश्वप्रेम पाठक,भिम ब थापा र अन्जना पाण्डेलगायत नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रशिक्षण विभागका सहजकर्ता एवं बुटवल जेसीजका पूर्वअध्यक्ष विनोद घिमिरेले डिजिटल प्रतिनिधिकाे भूमिका, जिम्मेवारी, डिजिटल सञ्चारको प्रभावकारी उपयोग, सामाजिक सञ्जालमा पार्टीको उपस्थिति विस्तार, सूचना सम्प्रेषण तथा डिजिटल माध्यमबाट संगठनलाई थप सुदृढ बनाउने विषयमा प्रशिक्षण दिएका थिए । नेपाली कांग्रेस नवपरासीका कार्यवाहक सभापति बिक्रम यादबले केन्द्रले जिम्मेवारी पहिलो पुरा गरिएको जानकारी दिए ।






