बुटवल,४ मंसिर ।
बुटवल उपमहानगरपालिकाअन्तर्गत सञ्चालित निजी तथा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भएका ३२६ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।

उपमहानगरपालिकाले १२ वटा निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीबीच परीक्षा सञ्चालन गरी छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई शुक्रबार प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र वितरणसँगै विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ ।
नगर शिक्षा नियमावली, २०७५ अनुसार निजी विद्यालयले भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार उपमहानगरपालिकाले पाँचवटा अनिवार्य विषयमा परीक्षा सञ्चालन गरी ३२६ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा सबैभन्दा धेरै अक्सफोर्ड माध्यमिक विद्यालयका ८५ जना विद्यार्थी छन् ।
उक्त विद्यालयमा कक्षा ११ मा भर्ना भएका ८४५ विद्यार्थीमध्ये उनीहरू छात्रवृत्तिका लागि छनोट भएका हुन् ।त्यस्तै, न्यू होराइजन माध्यमिक विद्यालयका ७३ जना, मणिमुकुन्द सेकेन्डरी स्कुलका ५३ जना,एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलका ५० जना र दीप बोर्डिङ हाईस्कुलका २५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
यसैगरी स्कलर्स होम इङ्लिस स्कुलका ११ जना, रम्भादेवी माध्यमिक विद्यालय र त्रिभुवन युनाइटेड एकेडेमीका ९–९ जना, अन्नपूर्ण माध्यमिक विद्यालयका ५ जना, इडन इङ्लिस बोर्डिङ स्कुल र ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलका २–२ जना तथा बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुलका १ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा करिब एक लाख विद्यार्थी अध्ययनरत रहेको र तीमध्ये ६० प्रतिशत विद्यार्थी रुपन्देही जिल्लाबाहिरका रहेको बताए । छात्रवृत्ति प्राप्त गर्ने अधिकांश विद्यार्थी पनि बुटवलबाहिरका रहेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको विकासले बुटवलमा आर्थिक तथा सामाजिक चहलपहल बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थीहरूले उपमहानगरपालिकाले प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गरी छात्रवृत्ति प्रदान गर्नुले विद्यार्थीको मेहनत र क्षमताको सम्मान भएको बताएका छन् ।
बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका वरिष्ठ शिक्षा अधिकृत यादवचन्द्र विष्टले नगर शिक्षा नियमावलीअनुसार निजी विद्यालयमा भर्ना भएका विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षामार्फत छात्रवृत्तिका लागि छनोट गरिएको जानकारी दिए ।






