काठमाडौँ,१४ फागुन ।
लघुवित्त पिडितहरूले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले संसद परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरू संसद्को तीन नम्बर गेटबाट भित्र छिरेका थिए ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । उनीहरू गेट धकेलेर भित्र छिरेका थिए ।