काठमाडौं,११ फागुन ।
प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।
नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ ।
आजको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ । केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो । ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’
त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उनले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिए ।
सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताए ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको भन्दै आपत्ति जनाए । आफूहरुका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो भन्ने प्रश्न गरे ।
रास्वपाका विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न गरे ।
राप्रपाका ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध हुने चेतवनी दिए ।
सत्तारुढ माओवादी केन्द्रका माधव सापकोटाले शाहीलाई जवाफ दिँदै संसद छाडेर जान चुनौती दिए ।
कांग्रेस सांसद राजेन्द्र बजगाईँले मिटरब्याज पिडकलाई सत्ता पक्षले संरक्षण गरेको आरोपको खण्डन गरे ।
त्यसपछि सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए, तर एमाले सांसदहरु उठेर विरोध जनाए । एमाले सांसदहरु निरन्तर उभिरहेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।






