काठमाडौँ,१० फागुन ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौंकाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल काठमाडौँ टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध बिग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ गोङ्गबुबाट पक्राउ गरेको हो ।

उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।