काठमाडौं,८ फागुन ।
राजधानी काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको हो । फ्लाई दुबईको उडानमार्फत उनी काठमाडौं आएका थिए । थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।