काठमाडौँ,१ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले अपनाएको फौजी तथा कार्यगत रणनीतिहरूको अध्ययन गरेर जनयुद्ध सुरु गरेको स्मरण गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा विगतमा भएका संघर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको बताएका हुन् ।

पृथ्वीनारायण शाहले विशाल नेपाल बनाउनका लागि अपनाएका फौजी र कार्यगत रणनीतिहरू के के थियो भन्ने बारेमा सबैभन्दा बढी आफुहरूले अध्ययन गरेकाे भन्दै उनलेे नेपालकै राजनीतिक संघर्ष, वर्गसंघर्ष, क्रान्ति, नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा सशस्त्र विद्रोहको अनुभव, जुगेडी किसानको आन्दोलन लगायतको आधारमा नै नेपालमा जनयुद्ध सम्भव छ र जनयुद्धका माध्यमबाट सामन्तवाद तथा निरङ्कुश तन्त्रलाई परास्त गर्न सम्भव छ भनेर जनयुद्धको थालनी गरेकाे उल्लेख गरे ।

जनयुद्ध नेपालको एउटा महान्, ऐतिहासिक र दूरगामी रणनीतिक पहल रहेको बताउदै प्रचण्डले आगामी दिनमा पनि यसको महत्त्व रहिरहने बताए । सुरुमा यसको औचित्य, यसको ऐतिहासिक आवश्यकतालाई कैयौँ मानिसहरूले यसको अन्दाज गर्न नसकेको बताए । उनले जनयुद्धलाई अपमान गर्ने, यसको तिथि मिति तोक्ने, ३ महिना, ६ महिना भन्दा बढी टिक्न सक्दैन भनेर त्यति बेलाका केही नेताहरूले बोल्ने गरेको स्मरण गरे ।

उनले भने, ‘मानिसहरूले पत्याएका थिएनन् तर नेपाली समाजको वर्ग समाजको परिस्थितिलाई, आर्थिक विकासको परिस्थितिलाई, राजनीतिक विकासको परिस्थितिको अन्तर्विरोधलाई हेरेर मैले भन्ने गरेको छु, नेपालमा विगतमा भएका हरेक सशस्त्र आन्दोलनहरू र शान्तिपूर्ण जनआन्दोलनहरूको पनि गहिरो अध्ययन गरेर नै जनयुद्धको तयारी गरिएको थियो ।’

जनयुद्धका क्रममा कैयौँ कमजोरी गरेर ठुला क्षति भए पनि दृढ इच्छाशक्तिका कारण सामन्तवादमाथि विजय हासिल गर्ने, नेपालका उत्पीडित जाती, क्षेत्र, वर्ग, लिङ्ग, समुदायलाई पहिचान, अधिकार र आत्मसम्मान दिन सफल भएको उनको भनाइ थियो ।