काठमाडौं,२९ माघ ।
राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सो क्रममा राष्ट्रिय सभाका सदस्यहरूले स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञसाको जवाफ दिएका थिए । सो क्रममा आपराधिक कर्मबाट नकमाएको सम्पत्तिलाई वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने भन्दै उनले त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था गरेको जानकारी गराए ।

विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको कानुन मन्त्री गुरूङले जवाफ दिएपछि उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो ।