काठमाडौं,२८ माघ ।
यात्रुलाई अपशब्द प्रयोग गरेकाे आराेपमा सार्वजनिक यातायातका सवारी चालक र सहचालक प्रहरी हिरासत पुगेका छन् ।

बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो ।

त्यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको हो ।

सहचालक विक्रमले तिनकुनेमा एक यात्रुलाई ‘भैया जाने हो’ भनेको बिषयमा बिवाद हुुदा चालकले अपशब्दले गालिगलाैज गर्दै गाडिबाट झारेकाे जाहेरीमा उल्लेख छ ।

अहिले दुवैको बयान र अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा जातको आधारमा छुवाछुत वा भेदभावपूर्ण व्यवहार गर्नु नहुने कसूरमा मुद्दा दर्ता भएको छ ।