काठमाण्डाै,२५ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताएकी छन् ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) द्वारा बिहीबार काठमाडौंमा आयोजित ‘२९ औँ क्यान इन्फोटेक’ को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताएकी हुन् । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने बिस्वास ब्यक्त गरिन् ।

सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी देशको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने देशका रूपमा विकास गरिनुपर्ने बताइन् ।

मेलामा एक सय ५० भन्दा बढी कक्ष रहेका छन् । मेलाको झन्डै तीन लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको दाबी छ ।