काठमाण्डाै,१८ माघ ।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी उपाधि नजिकै पुगेको हो ।

आर्मीले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३ ओभर ४ बलमा ६४ रनमै अलआउट भयो । गण्डकीका लागि ईश्वर क्षेत्रीले १६ र करण पङ्गेनीले १५ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीका शहाब आलमले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे आर्मी ३९ ओभर १ बलमा १ सय ३२ रन बनाउँदा अल आउट भयाे । आर्मीका इमराख शेखले ३४ र साेमपाल कामीले २३ रन बनाए । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २ विकेट लिए ।

आर्मीले अब फाइनलमा शनिवार नेपाल पुलिस क्लबसँग खेल्नेछ । गण्डकीले ४ अङ्कसहित आठौँ स्थानमा रहेर यात्रा टुङ्ग्याएकाे छ ।