काठमाण्डाै,१४ माघ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश विजयी भएका छन् ।
कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ६४ रनको फराकिलो अन्तरले हरायो । आर्मीले दिएको २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । कर्णालीका हिमांशु शाहीले सबैभन्दा धेरै १९ रन बनाए । आर्मीका विवेक यादव र कुशल मल्लले समान ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७९ रन बनायो । आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाए । यस्तै बसिर अहमदले ९८ रन बनाए । मधेसका दीपेन्द्र रावतले २ विकेट लिए ।
विनोद र बसिरले छैटौँ विकेटका लागि अविजित १ सय ६९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि सन् २०१९ मा नेपाल पुलिस क्लबका दिलिप नाथ र कुशल भुर्तेलले छैटौँ विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए । यस्तै विनोद प्रधानमन्त्री कपमा ३ वटा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यो संस्करणमा विनोदको यो दोस्रो शतक हो । आर्मी १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कर्णाली ६ अङ्कसहित सातौँ स्थानमा छ ।
यस्तै अर्काे खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ९ रनले ले हरायो । मधेसले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४० ओभर ५ बलमा १ सय ६० रन बनाउँदा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सबैभन्दा धेरै ६२ रन बनाए । मधेसका प्रदीप पासवानले ६ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मधेस ४१ ओभर ३ बलमा १ सय ६९ रनमा अल आउट भयो । मधेसका अरनिको यादवले ३८, पवन सर्राफ र अभिषेक तिवारीले समान २६ रन बनाए । लुम्बिनीका वीर मगरले ४ र अभिषेक गौतमले ३ विकेट लिए । मधेस १० अङ्कसहित चौथो स्थानमा छ । लुम्बिनी २ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।






