काठमाण्डाै,११ माघ ।
देशका पहाडी भेगका केही ठाउँमा आज हल्का बर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज गण्डकी, कोशी र कर्णाली प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना छ ।

हिजो पनि गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हिजो फाट्टफुट्ट पानी परेको थियो । तर आज काठमाण्डौ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । यस्तै, देशका सबै ठाउँमा एकैपटक पानी पर्ने सम्भावना पनि तत्काल नरहेको उनले बताए ।

हिजो सिन्धुपाल्चोक, दोलखा, लमजुङ, मनाङ, म्याग्दी, ताप्लेजुङ र गोरखाका उच्च पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात भएको थियो । आज पनि कोशी, बाग्मती, गण्डकी प्रदेशकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रधानाङ्गले बताए ।

यस्तै, तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केहीदिन नहट्ने मौसमविद्ले बताएका छन् । तराईका कुनै-कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ । बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।

सडकमा गाडीहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् । बाक्लो हुुस्सु र शीतलहरका कारण तराईका बासिन्दालाई घरबाहिर निस्कन पनि गाह्रो हुने गरेको छ । केही पालिकाहरुले दाउरा बाँडेर आगो ताप्ने व्यवस्था मिलाएका छन् ।