चितवन,२ माघ ।
त्रिशूली नदीमा खसेर बेपत्ता भएको भारतीय नम्बर प्लेटको जिप फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो ।
आज बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जिप सडकबाट करिब ८५ मिटर तल खसेको छ ।
त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ । स्थानीयले नदीमा जिप खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको थियो ।
केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






