काठमाण्डाै,२४ पुस ।
कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबै जना परीक्षामा सहभागि हुन पाउने भएका छन् ।
वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीच साेमबार बसेकाे बैठकले भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो ।
साे निर्णयसँगै पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् ।
आउँदो माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए ।
सहमति अनुसार पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकी तेस्रो चरणमा परीक्षामा सहभागी हुनेछन् । हरेक दिन एक हजार जनाको परीक्षा हुनेछ । पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा पास नभएकाले गएको शुक्रवार पुस २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि फारम भरेका थिए ।
फारम भर्न नपाएको विषयलाई लिएर पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जना युवाको मृत्यु भएको थियो ।






