काठमाडौं,११ पुस ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले मिसन ०८४ बाट यो व्यवस्था टिक्नेवाला नभएको बताएका छन् ।

माओ दिवसको अवसरमा साे पार्टीले मंगलबार आयाेजना गरेको लालमार्च प्रदर्शनलाई सम्बोधन गर्दै उनलेे उक्त कुरा बताएका हुन् ।

मिसन ०८४ बाट यो व्यवस्था नटिक्ने भन्दै उनलेे भने – `०८४ बाट देशमा केही हुनेवाला छैन । चुनावप्रति जनताको सम्मान छैन, वितृष्णा पैदा भइरहेको छ । संसदीय चुनावको पाँचवर्षे चक्रब्यूहबाट केही हुनेवाला छैन । यो व्यवस्था बदल्न हामीसँग संघर्ष गर्ने बाहेक अरु विकल्प छैन । संघर्षको प्रक्रियामा संसदवादी पार्टीभित्र भएका परिवर्तन चाहने साथीहरु मात्रै होइन, सुरक्षा प्रशासन, कर्मचारी प्रशासन लगायत सम्पूर्ण शोषित उत्पीडितहरु यो संघर्षमा लामबद्ध हुनेछन् । दशवर्षको जनयुद्धमा पनि उहाँहरुले साथ दिएको हो र आगामी संघर्षमा पनि उहाँहरुले हामीलाई साथ दिनुहुने विश्वास छ ।”

माओले माक्र्सवाद–लेनिनवादको विकासमा महत्वपूर्ण भूमिका खेलेकाे बताउदै अध्यक्ष बैद्यले विश्व सर्वहरावर्ग र उत्पीडित जनसमुदायको मुक्तिका लागि माओले संघर्ष मात्रै गर्नुभएन, माक्र्सवाद–लेनिनवादमा थप विकास गरेर त्यसलाई अझ समृद्ध पारेकाे उल्लेख गरे ।

मार्कसवाद–लेनिनवाद–माओवादको विकास भएको भन्दै उनलेे यही सिद्धान्तको आलोकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढिरहेकाे बताए ।

माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकलाई अबलम्बन गरेर सिद्धान्तको विकास गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न प्रतिबद्ध रहेकाे जनाउँदै बैद्यले माओका विचार वा योगदान सबै शोषित पीडित जनसमुदायको मुक्तिको लागि भएको उल्लेख गरे ।

माओले युवाहरुको सन्दर्भमा भनेकाे प्रसङ्ग स्मरण गर्दै उनलेे भने –‘यो देश तिम्रो पनि हो, हाम्रो पनि हो । तर अझ बढी तिमीहरुकै हो । बुढाहरुको तुलनामा युवा भर्भराउँदो उर्जा हो । विहानको ८÷९ बजेको सूर्यजस्तै तपाई युवाहरु हो । तपाईहरुको भविष्य उज्वल छ । क्रान्तिलाई सम्पन्न गर्ने काममा पनि उमेर, शक्ति र साहसका हिसाबले तपाईहरु नै सक्षम हुनुहुन्छ ।’ युवा साथीहरुले माओको यो भनाइमाथि विशेष जोड दिनुहुनेछ भन्ने आव्हान गर्न चाहन्छु ।´

आज पुरानो सत्ता, व्यवस्था छ । दलाल पुँजीपति, नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता अझै छ । शासनसत्तामा अहिलेको संसदीय व्यवस्था छ । शोषण, दमन र उत्पीडनका मूलभूत रुपहरु कुनै बदलिएका छैनन् । सुरुमा कांग्रेसले संसदीय व्यवस्थालाई आफ्नो व्यवस्था भन्थ्यो वा ठान्थ्यो । मुलत ः संसदीय ब्यवस्था काँग्रेसहरुकै ब्यवस्था हो । झापा विद्रोहका साथीहरु र महान जनयुद्धमा सामेल एउटा हिस्सा सत्तामा गएर कांग्रेसीहरुको भाग खोसेर उनीहरुले संसदीय व्यवस्था त हाम्रो पो व्यवस्था हो त भन्न थालेका छन् । हामी नै यसका संरक्षक हौं भन्न थाले । यो सत्ता, व्यवस्था र संविधानबाट जनताको मुक्ति हुनेवाला छैन -उनलेे भने ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्तै विकराल बनेर गएकाे भन्दै उनलेे हिजो राष्ट्रिय स्वाधीनताको कुरा गर्नेहरु भारतले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र मिच्दा पनि आज चुपचाप रहेको बताए ।

`हिजो अमेरिकी साम्राज्यवाद भनेर विरोध गर्थे, अमेरिकी साम्राज्यवाद नेपालमै आएर हिन्द प्रशान्त रणनीतिको अंगको रुपमा एमसीसी ल्याएपछि पनि सबै जनताले संसदबाट पास गर्नुहुन्न भन्दाभन्दै संसदबाट अनुमोदन गराएका छन् । स्वाधीन राष्ट्रिय अर्थतन्त्रको पनि कुरा गर्थे, तर विदेशीहरुलाई पोस्ने नवउदारवादी अर्थतन्त्र अँगालेर देशलाई तहसनहस पार्ने काम भइरहेको छ । त्यसकारणले हिजोको शोसक फटाहाहरु र अहिलेका नयाँ हिजोका कम्युनिस्ट साथीहरुमा सारतः केही फरक पाइँदैन । उस्तै भएका छन् ।´-उनलेे भने ।

नेपाली जनताहरु रोग, भोक, मिटरब्याजी शोषणलगायतबाट अत्यन्तै शोषित पीडित बनिरहेकाे बताउदै उनलेे अब यो व्यवस्था नचल्ने दाबी गरे । अहिलेकाे ब्यवस्थालाई यथास्थितिवाद संसदवादकाे संज्ञा दिदै बैद्यले यो राज्यसत्ताका साथसाथै संसदीय व्यवस्थाको अन्त्यका निम्ति संघर्ष गर्न जरुरी रहेको बताए ।

यही स्थितिको फाइदा उठाउँदै केही राजावादीहरु पनि चलमलाउने गरेकाे भन्दै उनलेे उनीहरु यो संसदीय व्यवस्था अन्त्य गरेर निरंकुश राजतन्त्र ल्याउनुपर्छ भनेर लागिरहेकाे उल्लेख गरे ।

संसदीय व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन र निरंकुश राजतन्त्रबाट पनि देश र जनताको भलो हुन नसक्ने दाबी गर्दै उनलेे आफ्नो पार्टी तेस्रो धारा भएको बताए ।

नेपालमा नयाँ जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने पार्टीको उदेश्य रहेको भन्दै त्यसबाट मात्र देश र जनताको वास्तविक मुक्ति सम्भव भएको धारणा राखे ।

आफुहरूले अहिले नयाँ कार्यनीतिक सरकारको कुरा ल्याइरहेकाे बताउदै उनलेे देशमा संयुक्त अस्थायी सरकारको आवश्यकता औल्याए ।

यो तथाकथित संसदीय लोकतन्त्रको फाँसीवादीकरण भइरहेको आराेप लगाउदै उनलेे यो संसदीय संविधान अब खारेज गर्नेपर्नेमा जाेड दिए ।