काठमाडौँ,४ मंसिर ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अक्वान’ शुक्रबार बिहान भारतीय भूमिमा प्रवेश गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त चक्रवात आज बिहान ७:३० देखि ८:३० बजेको बिचमा भारतका आन्ध्र प्रदेश र ओडिसा बिचमा रहेको गोपालपुर तटमा अवतरण भएको हो ।
हावाको गति प्रतिघण्टा ७० देखि ९० किलोमिटरसम्म पुगेको थियो । आँधी अझै पनि चलिरहेको छ ।
आँधीको प्रभावका कारण ओडिसा, आन्ध्र प्रदेश र पश्चिम बंगालमा भारी वर्षा भइरहेको छ । ओडिसामा झन्डै ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूका लागि ९ हजार ३४१ आश्रय शिविर स्थापना गरिएको छ। ४२३ उद्धार टोली खटाइएको छ ।
आँधीका कारण पूर्वी रेलवेले ४१ एक्सप्रेस रेल सेवा रद्द गरेको छ र दक्षिण पूर्वी रेलवेले २८ एक्सप्रेस रेल रद्द गरेको छ। २९ रेलको समय परिवर्तन गरिएको छ ।
आँधीले भारतका १० राज्यमा असर गर्न सक्ने अनुमान गरिएको छ ।






