काठमाडौं,११ पुस ।
अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न
समाजवादी मोर्चाले सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकमा हालसम्म भएका कामको समीक्षा गर्नुका साथै मोर्चाका गतिविधि बारेमा जानकारी गराइएको बताए ।
संघीयतालाई कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्नेमा नेताहरुले जोड दिएको उनलेे जानकारी दिए । ‘संघीयता कार्यान्वयन भएको भए तलतलबाटै सरकारविरुद्धको जनमतको सामना गर्छ नि त’, बैठकपछि नेता श्रेष्ठले भने ।
उनले अहिले अधिकारविहीन प्रदेशहरू हुन गएको र प्रदेशलाई दिनुपर्ने प्रशासनयन्त्रका अधिकार, सुरक्षायन्त्रका अधिकार नदिँदाखेर प्रदेशहरू नै बोझ हो कि भन्ने सन्देश प्रवाह हुन थालेको बताए ।
संविधानका अनुसूचीमा व्यवस्थित भएका अधिकारलाई आठआठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी भएको उनको भनाइ छ । बैठकमा देशका प्रमुख शहरहरूमा पुन: सन्देश सभाहरू गर्ने समझदारी भएको बताइएको छ ।
मोर्चाले यसअघि सातै प्रदेशमा सन्देश सभा गरेको थियो । उनका अनुसार बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यसलाई चिर्न सन्देशमूलक कार्यक्रम लैजाने सहमति भएको उनले बताए ।







