काठमाडौँ,३ पुस ।
किर्ते कागजात प्रकरणमा नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

निलम्बन हुनेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् ।

पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले जानकारी दिए ।

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।