बुटवल,१ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपयाँको वजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बुधबार बसेको प्रदेश सभाको १० औं अधिवेशनको ११ औं बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटमा समावेश गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन भएको छ । कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१ दशमलव २६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रु ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको गरिएको छ । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरेका छन् ।

आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रु ३ अर्ब १० करोड ५९ लाख, सङ्घ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट रु ७० करोड प्राप्त हुने अनुमान गरेका छन् ।
त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट रु ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट रु ७३ करोड ९० लाख, विशेष अनुदानबाट रु ४८ करोड रु ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट रु ४ अर्ब रहने र आन्तरिक ऋणबाट रु १ अर्ब परिचालन हुने अनुमान गरेको आर्थिक मामिला सहकारी मन्त्री कृष्ण ध्वज खड्काले जानकारी दिए ।

प्रदेश सभामा वजेट सार्वजनिक गरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले बिगतमा भन्दा चालु खर्च घटाउनु वजेटको बिशेषता भएको बताए ।

उनले वजेटमा कृषि उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन गर्ने योजनालाई जोड दिएको बताए ।

प्रस्तुत वजेटमा कूल वजेटमध्ये ४५.५ प्रतिसत कृषि क्षेत्रमा विनियोजन भएको छ ।

वजेट बारे प्रतिक्रिया दिदै प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका उप नेता बैजनाथ चौधरीले वजेटले नीति तथा कार्यक्रमलाई पछ्याउन नसकेको टिप्पणी गरे ।

उनले क्रमागत योजनामा कम वजेट बिनियोजन भएको दाबी गरे ।