काठमाडौं,९ असार ।
नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो ।

बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- ‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो । उहाँसँग पीएसओ छ । उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो । त्यो कानुनी राज्यको बर्खिलापमा छ । संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ । बिना सर्त रिहाइको माग गरेको छ ।’

उनले सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाउदै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए ।

उनले एमालेले सरकारका यस्ता क्रियाकलापको विरुद्धमा सदनमा सशक्तरूपमा उत्रिने बताए ।