प्रकाश खनाल
बुटवल,२८ जेठ ।
लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रमलाई सत्ता पक्षका प्रदेश सभा सदस्यहरूद्वारा समर्थन गरेका छन् भने प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले बिराेध जनाएका छन् ।
आज बसेको प्रदेश सभाको दशौ अधिवेशनको नवाै बैठकमा प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथीको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले समर्थन र बिराेध गरेका हुन् ।
नीति तथा कार्यक्रममाथीको छलफलमा सहभागि हुदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सरकारकाे नीति तथा कार्यक्रम लक्ष्य र गन्तव्यमा तय नभएको यात्रा जस्तै भएको टिप्पणी गरे ।
उनले नीति तथा कार्यक्रमले प्रदेशका जनतामा आशा जगाउने भन्दा पनि निराश बनाउने खालको भएको दाबी गरे ।
बैठकमा सत्ता पक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बैजनाथ कलवारले नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै यसकै आधारमा वजेट ल्याएर कार्यान्वयन गर्न सके प्रदेश समृद्धिकाे बाटोमा अगाडि बढ्ने धारणा राखे ।
नीति तथा कार्यक्रमकाे बिषयमा विपक्षी दल नेकपा एमालेका प्रमुख भुमिश्वर ढकालकाे अभिब्यक्ति प्रति लक्षित गर्दै उनलेे बिगतकाे सरकारले संस्थागत भ्रष्टाचार गरेकोले यो नीति तथा कार्यक्रमलाई पनि त्यस्तै देखेको आराेप लगाए ।
यस अघिको सरकारले गाडी खरिद,कृषि यन्त्र तथा उपकरण खरिद,कृषि अनुदान,मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत संस्थागत भ्रष्टाचार गरेको भन्दै उनलेे आफुले गरेको जे पनि राम्रो अरूले गरेको राम्रोलाई पनि नराम्रो भन्ने प्रबृत्ति गलत भएको धारणा राखे ।
बैठकमा प्रदेश सभा सदस्यहरू अष्टभुजा पाठक,भुवनेश्वर चाैधरी,शंकर गिरी,इन्द्र प्रसाद खरेल,तुलाराम घर्ती,दिपेन्द्र कुमार पुन,रमा अर्याल,निर्मला क्षेत्री,आरती पाैडेल,कुल प्रसाद पाेखरेल,हरी प्रसाद रिजाल,कृष्णप्रसाद न्याैपाने,जाल्पा भुसाल,नारायण आचार्य,रेवतिरमण शर्मा,खड्क बहादुर खत्री,लाैटी थारू,कमलादेवी बिक,तारा जिसी,निर्मला मुडभरी लयायतले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा राखेका थिए ।
यही जेठ २५ गते बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक यही जेठ २९ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।






