बुटवल,२८ जेठ । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।
दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा २ करोड ४० लाख लिटर जति मात्रै पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचानका लागि साथै शुद्ध पानीको पहुँच पु¥याउनका लागि जनप्रतिनिधिले बुटवलस्थित मुहानको स्थलगत अवलोकन गरेका हुन् ।
शनिबार नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, खानेपानी संस्थानका सव इन्जिनियर विजय श्रेष्ठ, कांग्रेस नेता छायाँ पोखरेल, स्थानीय बासिन्दासहितको टोलीले बुटवल चिडियाखोलाको मुहानको अवलोकन गरेको हो ।
बुटवलमा वितरण भएको पानीमध्ये ६० प्रतिशत पानी तिनाउ नदीको चिडियाखोलाबाट पम्पले तानेर वितरण हुन्छ । सोही स्थानको अवलोकनपश्चात् नगरप्रमुख खेलराज पाण्डेले बुटवलमा शुद्ध र पर्याप्त पानी वितरणका लागि बुटवल उपमहानगरपालिका, खानेपानी संस्थानका साथसाथै प्रदेश र संघीय सरकारसँग समेत समन्वय गरिने बताए ।
‘बुटवलमा कैयौं वर्षदेखि शुद्ध र पर्याप्त पानीको अभाव छ, यो अभाव पूर्ति गर्नका लागि हामीले हाम्रो बजेटले भ्याएसम्म हाम्रो बजेटबाट र बाँकी ठूला योजनाका लागि प्रदेश र संघसँग समेत समन्वय गरेर बुटवलको मुख्य समस्यामध्येको खानेपानी समस्या समाधान गर्नेछौं’–उनले भने ।
खानेपानी संस्थान बुटवलका सव इन्जिनियर विजय श्रेष्ठका अनुसार बुटवलमा दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ । ‘तिनाउको पानी तानेर शुद्धीकरण गरेर वितरण गरिएको छ, उनले भने–वर्षामा धमिलो पानी आएमा वितरण रोकिन्छ, यसले पानीको अभाव बढाउँछ ।’
बुटवलमा पानीको वितरण पुगनपुग २ करोड ४० लाख लिटर मात्रै छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ ।
अहिले १६ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यस बाहेक १९ वटा बोरिङ्ग मार्फत पनि पानी वितरण गरीएको छ । तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमीन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङ्गबाट पानी कम आउँछ । जसका कारण बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदो छ ।
बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उदेश्यले २६ वर्षअघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो ।
पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०५२÷०५३ मा आयोजना सुरु भएको थियो । तर, सो आयोजना पटक पटक रोकिदै आएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पानी अभाव अरु बढ्दै गएको छ ।
आयोजना छिटै सम्पन्न गर्नका लागि समन्वय र सहकार्य गरिने नगरप्रमुख पाण्डेले बताए । ‘झुम्साको पानी बुटवलमा
ल्याएर वितरण गर्न सकियो भने अहिलेजस्तो अभाव हट्ने थियो, उनले भने–त्यो आयोजनाको काम के के भइरहेको छ, त्यसबारे हामीले छिटै नै प्रगति विवरण हेरेर आयोजना, प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर अघि बढ्दा प्रभावकारी हुन्छ, त्यसैअनुसार गर्छौं ।’






