बुटवल,२७ जेठ ।
नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न उपभोक्ताहरुले सुझाव दिएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणद्धारा शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरका विषयमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा सहभागि सेवाग्राहीले नेपाल टेलिकमले प्रदान गर्ने मोवाईल तथा ईन्टरनेट सेवाको गुणस्तर राम्रो नभएको भन्दै ती सेवाको गुणस्तर सुधार गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागि सेवाग्राहीहरुले लुम्बिनी प्रदेशको प्रमुख स्थान बुटवलमा पनि मोवाईलमा नेटवर्क नटिप्ने, टिपिहालेपनि फोन गर्दागर्दै काटिने, आवाज नआउने लगायतका समस्या रहेको बताएका थिए । त्यस्तै ईन्टरनेटमा पनि उस्तै समस्या रहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेपाल टेलिकमको नेतृत्वलाई प्रदान गरिने सेवाको गुणस्तरलाई सुधार गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

टेलिकमको सेवालाई प्रभावकारी बनाउन गुणस्तरमा ध्यान दिनु पर्ने उनको भनाई थियो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले यस विषयमा प्रदेश सरकारसंग पनि समन्वय गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई आग्रह गरे ।

त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरमा गम्भिर प्रश्न उठाउदै आफ्नो घर बुटवलको सुख्खानगरमै मोवाईलमा नेटवर्क नदेखाउने, फोन भईहाले पनि आवाज नआउने, फोन गर्दागर्दै काटिने तथा ईन्टरनेट सेवा पनि गुणस्तर नभएको बताए । संघीय सरकार मातहत रहेर प्रदेशमा सेवा प्रदान गरिरहेका संस्थाहरुले अहिलेसम्म प्रदेश सरकारसंग कुनै प्रकारको समन्वय नगरेको बताउँदै उनले आगामी दिनमा प्रदेशसँग समन्वय गरेर सेवा सुधार गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले प्रदान गरेका सेवा सुविधा कत्तिको प्रभावकारी छ वा छैन, के कस्ता सुधार गर्नुपर्छ भन्ने बिषयमा जानकारी लिन सेवाग्राहीको विचमा आएको बताए । उनले यहाँबाट प्राप्त सुझावहरुका आधारमा सेवा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले पनि टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर रहेको औल्याउँदै सुधार गर्न सुझाव दिए । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण उपभोक्ता हित महाशाखाका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै टेलिकमले प्रदान गरेका सेवाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै प्राधिकरणकै वरिष्ठ ईञ्जिनियर मधुसुधन दाहालले टेलिकमले सबैभन्दा बढी टावर वागमति प्रदेशमा रहेको र त्यसपछि लुम्बिनीमा ९०२ वटा टावर रहेको जानकारी गराए । टेलिकमले लुम्बिनीलाई धेरै प्राथमिकता दिएको भन्दै उनले प्रदेशको रुकुम पूर्वी जिल्लाका केही भागमा मात्रै सामान्य समस्या रहेको र अन्य जिल्लाका सबै ठाउँमा टेलिकमको सहज पहूच पुगेको दाबी गरे । टेलिकमका ग्राहकले ८ सय मेघाहर्ज भन्दा बढी क्षेमताको मोवाईल प्रयोग गर्ने हो भने सबै समस्या समाधान हुने उनको भनाई छ ।

त्यस अवसरमा एनसेलका निर्देशक रमेश घिमिरे, वल्र्डलिंकका केशव नेपालले ती कम्पनीले प्रदान गर्ने सेवा लगायतका विषयमा जानकारी गराएका थिए ।